यि हुन् उपत्यकामा घर भएपनी महिनैपिच्छे ९ हजार मर्मतसम्भार सुविधा बुझ्ने १२४ सांसद

10

काठमाडौं – संघीय संसद्मा कायम तीन सय ३० मध्ये एक सय २४ सांसदको काठमाडौं उपत्यकामा घर छ । सरकारी ढुकुटीबाट उनीहरूले हरेक महिना घर मर्मतसम्भार सुविधाबापत नौ हजारका दरले बुझ्छन् । घर भएका कतिपय सांसद नै यो सुविधा अनावश्यक भएकाले खारेज गर्नुपर्ने बताउँछन् । भाडामै बस्नेहरू त झन् आपत्ति जनाउँछन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ मा आवास सुविधाको व्यवस्था छ । जसमा उपत्यकामा घर नभएका सांसदलाई मासिक १८ हजार घरभाडा र घर भएकालाई मर्मतसम्भारका लागि मासिक नौ हजार सुविधा दिइने व्यवस्था गरिएको छ । घर भएकामध्ये मोरङ १ बाट निर्वाचित सुनील शर्माले मात्रै मर्मत–सम्भार सुविधा लिने गरेका छैनन् ।

सांसदहरूले संसद् सचिवालयलाई बुझाएको विवरणअनुसार प्रतिनिधिसभामा अहिले कायम दुई सय ७१ सदस्यमध्ये कांग्रेसका ४५, एमालेका २६, राष्ट्रिय स्वतन्त्र पार्टीका नौ, एकीकृत समाजवादीका आठ, राप्रपा र जसपाका सात–सात, माओवादीका पाँच, लोसपा, जनमत र नेमकिपाका एक–एक तथा एक स्वतन्त्र सांसदको उपत्यकामा घर छ । त्यस्तै, माथिल्लो सदन राष्ट्रिय सभाका कुल ५९ मध्ये १३ सांसदको काठमाडौंमा घर छ । जसमा कांग्रेसका पाँच, एमालेका तीन, माओवादी, एकीकृत समाजवादी, लोसपाका एक–एक र दुई स्वतन्त्र सांसद छन् । एकजनाबाहेक सबैले मासिक रूपमा घर मर्मत–सम्भार सुविधा बुझिरहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयको सांसद सुविधा शाखाका प्रमुख रामहरि थापाले घर भएको विवरण उपलब्ध गराउने एकजनाबाहेक सबै सांसदले मर्मत–सम्भार सुविधा बुझिरहेको बताए । ‘हामीले उपत्यकामा घर छ कि छैन भन्ने विवरण भरेर लेखा शाखामा पठाउँछौँ । लेखाले ऐनअनुसार घर भएकालाई नौ हजार र घर नभएकालाई १८ हजार रुपैयाँ सुविधा उपलब्ध गराउँछ । हामीसँग भएको विवरणअनुसार एकजनाबाहेक सबै माननीयज्यूले घरभाडा र मर्मत–सम्भार सुविधा लिइरहनु भएको छ । सुनीलकुमार शर्माले भने सुविधा लिन्नँ भनेर सचिवालयमा निवेदन नै दिनुभएको छ,’ उनले भने ।

घर मर्मत सुविधा बुझ्नेमा उपत्यकामा घर भएका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा संसद्ीय दलका नेता डोरप्रसाद अर्याल, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, जसपा संसदीय दलका नेता अशोककुमार राइलगायतका नेतृत्वमा रहेका नेताहरू पनि छन् । त्यति मात्र होइन, अर्बपति उद्योगी तथा कांग्रेस सांसद विनोद चौधरी पनि घर मर्मत सुविधामा पाउने नौ हजार महिनैपिच्छे बुझिरहेका छन् । काठमाडौंमा घर भएका केही सांसदले पनि घर नभएको विवरण उपलब्ध गराएको स्रोतको दाबी छ । यस्ता सांसदले ‘आफ्नो नाममा घर नभएको’ जिकिर गर्ने गरेका छन् ।

निर्वाचित हुनुअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलले पनि घर मर्मत–सम्भार सुविधा लिने गरेका थिए । उनको बोहराटारमा घर छ । गत २५ फागुनमा राष्ट्रपति निर्वाचित भएपछि उनले २९ फागुनमा संसद् सचिवालयमा राजीनामा बुझाएका थिए । त्यस्तै, उपत्यकामै घर भएका कांग्रेसका डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ, माओवादीका नारायणकाजी श्रेष्ठ र रेखा शर्मा, एकीकृत समाजवादीका बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अशोक राई तथा लोसपाका शरतसिंह भण्डारी अहिले मन्त्री छन् । मन्त्री नियुक्त भएपछि उनीहरूले मन्त्रीकै सुविधा लिन्छन्, त्यसअघिसम्म संसद् सचिवालयबाट घर मर्मत–सम्भार सुविधा लिने गरेका थिए । श्रेष्ठ गत ११ पुसमा, शर्मा ३ माघमा र बाँकी गत १७ चैतमा मन्त्री नियुक्त भएका थिए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ऐनअनुसार सांसदहरूले पाउने सेवा–सुविधा उपलब्ध गराउने गरिएको बताए । ‘घर छ कि छैन भन्ने माननीयज्यूहरूले नै व्यक्तिगत फाराम वा स्वघोषणामार्फत विवरण उपलब्ध गराउनुहुन्छ । त्यसैका आधारमा संघीय संसद््का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनबमोजिम सचिवालयले घरभाडा तथा मर्मत–सम्भार खर्च उपलब्ध गराउने हो, गराउँदै आएको छ,’ उनले भने । सचिवालयका लेखा नियन्त्रक प्रेमचन्द्र भुसालले पनि सांसदहरूलाई ऐनबमोजिम पाउने सुविधा निकासा भएको बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू