नवलपरासी – उखु बेचेको रकम दिन उद्योगी सहमत भएपछि पश्चिम नवलपरासीका किसानले आन्दोलन स्थगित गरेका छन् । उद्योगले भुक्तानी दिन बाँकी रकम मासिक ५ करोडका दरले किसानलाई भुक्तानी दिने सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।
लामो समय बित्दा पनि उखु बेचेको रकम नपाएपछि पश्चिम नवलपरासीका किसानले बिहीबारदेखी आन्दोलन सुरु गरेका थिए । पश्चिम नवलपरासीका लुम्बिनी चिनी उद्योग, बाग्मती चिनी उद्योग र इन्दिरा सुगर मिलले किसानलाई झण्डै ४० करोड रुपैयाँ भुक्तानी गरेका छैनन् ।
यसअघि जस्तै उद्योगी सहमतिबाट पछि हटे आन्दोलनका कार्यक्रमलाई थप कडा बनाउने उखु उत्पादक किसानहरुले चेतावनी दिएका छन् । पश्चिम नवलपरासीका झण्डै १० हजार परिवार किसानले उखु खेती गर्दै आएका छन् ।