काठमाडौ – राजावादीहरुले आन्दोलनको लागि भनेर राप्रपा सदस्य नवराज सुवेदीको नेतृत्वमा ११ सदस्यीय समिती निर्माण गरेको केही समय नबित्दै बबन्डर सुरु भएको छ ।
सुरुमै सार्वजनिक गरिएको माइनुटिङ र निर्णयमा कुनै हस्ताक्षर नदेखिँदा नै शंका उत्पन्न भईसकेको थियो तर हाल सो कुरा झनै स्पस्ट बनेको छ । यो समितिमा आफ्नो नाम राखिएकोप्रती राप्रपा , राप्रपा नेपालकै नेताहरुको असहमती र आफ्नो नाम कसरी रह्यो भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको भन्ने गुनाशो आएको थियो ।
त्यस्तै सल्लाहकारमा नाम रहेका बौद्धिक ब्यक्तित्व डा जगमान गुरुङ तथा डा राजेश अहिराजको पनि असन्तुष्टि पाईएको छ । डा राजेश अहिराजले त स्पस्ट रुपमा ट्विटर ( एक्स ) मा आफू कुनै समितिमा नरहेको कुरा स्पस्ट पारिसकेका छन् ।
उता, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सदस्य सचिव राख्दा राप्रपाकै सदस्य नवराज सुवेदी संयोजक अनि राप्रपा अधक्ष राजेन्द्र लिङदेन तथा वरिष्ठ ब्यक्तित्व पशुपती समशेर जबरा सदस्य मात्र रहनुले पनि मर्यादाक्रमको धज्जी उडाईएको भन्ने प्रतिकृया विभिन्न समर्थकहरुबाट आएको छ ।
वरिष्ठ पत्रकार रमा सिंह तथा विश्व हिन्दु महासंघ अधक्ष अस्मिता भन्डारिलाई समेत सदस्यकै मर्यादामा राखिनुले पनि केहि नेताहरु असन्तुष्ट रहेको बुझिएको छ ।