काठमाडौं – गृह मन्त्रालयले संविधान र कानुनको उल्लंघन हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ। आइतबार निषेधित क्षेत्र तोड्ने सार्वनिक कार्यक्रम गरेको राप्रपालाई गृहमन्त्रालयले चेतावनी दिँदै कारबाही गर्ने चेतावनी दिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएको निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको गृहले शनिबार विज्ञप्ति निकालेर भनेको छ।
संविधान र कानुनको उल्लंघन गर्न, प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृहले जनाएको छ।
‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृहको विज्ञप्तिमा भनिएको छ,‘साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’