राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि

26

(काठमाडौं) – आगामी शुक्रबारबाट काठमाडौंमा आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिप हुने भएको छ । नेपाल भलिबल संघले आयोजना गर्न लागेको प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमण्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले खेल्नेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ ।

विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा रु २३ लाख खर्च हुने संघले जनाएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको हो ।

समाचार वर्गहरू