राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ९ गते

23

(काठमाडौं) – सरकारले राष्ट्रिय सभाको रिक्त हुने १८ पदका लागि आगामी माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको तयारी गर्न सरकारले यसअघि नै निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।

राष्ट्रिय सभाको पहिलो बैठक बसेको २ वर्ष अर्थात आगामी माघ २० गते एक तिहाई सदस्यको कार्यकाल सकिदैछ । कार्यकाल सकिनु अघि नै निर्वाचन गर्नु पर्ने कानूनी व्यवस्थाअनुसार सरकारले माघ ९ गते निर्वाचन गर्न लागेको हो । कार्यकाल सकिने १९ सदस्यमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरवारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गते विहीबार राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले मझगवा इलाका प्रहरी कार्यालयमा झुटो विवरण पेस गरी प्रशासन कार्यालय रूपन्देहीबाट नागरिकता लिएका जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्द गरेको छ । यस्तै, एडीबीले विभिन्न ४ परियोजनाका लागि उपलब्ध गराउने ३५ करोड ८० लाख ऋण स्विकृत गरेको छ ।

प्रदेश सहयोग कार्यक्रम–प्रथम चरण, प्रदेश १ परियोजनाका लागि स्वीस सरकारबाट प्राप्त हुने करीब १ अर्व रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

समाचार वर्गहरू