रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि, के-के छन् एजेण्डा ?

34

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ ।

शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं सर्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य रहेका छन् ।

समाचार वर्गहरू