सरकारले तत्काल कर बुझाउन सूचना जारी गर्नु गैरजिम्मेवारपनको पराकाष्ठा : कांग्रेस

23

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक भएको जनाएको छ ।

काँग्रेस संसदीय दलले बुधबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला जेठ २५ गतेभित्र कर तिर्न ताकेता गर्नु गैरजिम्मेवारपन भएको भन्दै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताए ।

खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्र लगायत ठप्प छ। यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो ।’

बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप कांगेसको छ । प्रमुख सचेतक खाँणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।

समाचार वर्गहरू