काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा सहित नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री अर्यालले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएकी हुन् ।
समितिमा सत्तासीन दलका सांसदहरुले नै उनलाई यस सम्बन्धमा कडा प्रश्न गरेका थिए ।
उनले सिमा अतिक्रमणका विषयमा सरकारको तर्फबाट आवश्यक काम भइरहेको प्रतिक्रिया दिइन् । पहिलो चरणमा सचिवस्तरमा छलफल भएको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसबाट निचोडमा नपुगे मन्त्रीस्तर हुँदै प्रधानमन्त्रीस्तरमा वार्ता हुने जानकारी दिइन् ।
नेपालको कुनै पनि नक्सामा लिम्पियाधुरा नसमेटिएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको नक्सामा कालापानी र लिपुलेक सधैँ समेटिएको दाबी गरिन् ।
‘कालापानी र लिपुलेकसहितको नक्सा निकालेकै छौँ । लिम्पियाधुरा सहितको प्रकाशित गर्ने क्रममा तथ्यप्रमाण जुटाउँदैछौं ।’