विराटनगरको ग्रिनक्रस अस्पतालमा मृतकको कानबाट सुन गायब

43

काठमाडौं । विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको हो ।

विष सेवनबाट बिरामी परेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारलाई आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।

उनलाई जेठ १ गते अस्पताल भर्ना गरिएकोमा आइतबार बिहान उनको मृत्यु भएको थियो । उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा हराएको हो ।

सुरूमा अस्पताल प्रशासनले सुन हराएको अस्वीकार गरेपनि सीसी क्यामेरा फुटेज जाँचपछि भने स्वीकार गरेको छ । प्रहरीको रोहबरमा पछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो ।

प्रशासनले मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएको छ ।

अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको मृतक परिवारका एक सदस्यले बताए । बिरामीको मृत्यु घोषणाअघि पर्दा लगाएर ईसीजी गर्ने क्रममा सुन चोरी भएको परिवारका सदस्यको आशंका छ ।

पीडित परिवारले खबर गरेपछि प्रहरीले सोधपुछ गरेको थियो । प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो । अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएका छन् ।

समाचार वर्गहरू