विवादित व्यक्तीको नेतृत्वमा ओलीले बनाए ‘भोलेन्टियर्स फोर्स’ पार्टि भित्रबाटै बिरोध

83

काठमाडौं – जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको संवैधानिक हैसियतमा प्रश्न उठाउँदै २१ फागुनको निर्वाचनमा जान अस्वीकार गरेको एमालेले तनाव बढाउने र निर्वाचनको वातावरण बिगार्ने अर्को कदम चालेको छ ।

संसद् पुनस्र्थापनाको माग गर्दै परिस्थिति भड्काउने अभिव्यक्ति र गतिविधि गर्दै आएका अध्यक्ष केपी ओलीको पहलमा एमालेले ‘नेसनल युथ भोलेन्टियर्स फोर्स’ घोषणा गरेको छ ।

कानुनी व्यवस्थालाई नै चुनौती दिने गरी तथा निर्वाचनकेन्द्रित तनाव बढाउने गरी ६ हजार ७४३ वटै वडामा टोल सुरक्षा समूहका नाममा फोर्स पुर्‍याउने एमाले केन्द्रीय कमिटी र सचिवालयबाट निर्णय भएको छ । जेन–जी आन्दोलनपछि शान्ति–सुरक्षा कमजोर बनेर समाज भयभीत र असुरक्षित बनेको दाबी गर्दै एमालेले फोर्स गठन गरेको बताएको छ ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा हुँदै टोल तहसम्म टोल सुरक्षा समूहका नाममा फोर्स बनाउने योजनाका साथ एमालेले शुक्रबार कार्की बैंक्वेट, बबरमहलमा फोर्स घोषणा गरेको हो । घोषणाअघि माइतीघरदेखि नयाँ बानेश्वरसम्म रातो क्याप लगाएका युवाले मार्च पास गरेका थिए । अध्यक्ष ओलीको उपस्थितिमा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकालले अलग्गै जनसंगठनका रूपमा फोर्स घोषणा गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित पोलिटब्युरो सदस्य महेश बस्नेत र सहभागी नेताहरूले पूर्ववत् रूपमा शान्ति–सुव्यवस्था कायम राख्ने काममा प्रहरीको मनोबल उकास्न र समाजमा सुरक्षा अनुभूति दिलाउने काममा टोलसम्म सक्रिय बन्न फोर्सलाई ढाडस दिए । ओलीले फोर्स कसैका विरुद्ध नभएर हिंसा र अराजकताविरुद्ध स्वयंसेवी संगठन बनाइएको दाबी गरेका छन् । ‘यदि कसैले शान्ति भंग गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । कसैले आगजनी, तोडफोड र राक्षसी शैली देखाएर अराजकता मच्चाउने र कानुन हातमा लिने काम गर्छ भने फोर्सले रोक्छ,’ ओलीले भने ।

बस्नेतले एमाले नेताहरूलाई २३ र २४ भदौको घटनाका लागि छानबिन गर्न बनेको आयोगले बयानका लागि बोलाए एक लाख युवा सिंहदरबारभित्र छिरेर सभा गर्ने चेतावनी दिए । शुक्रबार घोषणा गरिएको फोर्सको केन्द्रीय कमान्ड ११ सदस्यीय छ । जसको संयोजकमा पुष्पराज श्रेष्ठ र सहसंयोजकहरूमा अमित पौडेल र विनिता काफ्ले छन् । तर, श्रेष्ठ विगतमा विभिन्न फौजदारी मुद्दाको अभियुक्त रहेको विवरण सार्वजनिक भएसँगै कतिपयले सामाजिक सञ्जालबाट उनको आलोचना पनि गरिरहेका छन् ।

तर, उनले भने विगतमा माओवादीसम्बद्ध वाइसिएलमा रहेर पार्टीको निर्देशनमा काम गर्दा भएका झडपहरूमा मुछिएकाले फौजदारी मुद्दा लागेको कुरा सत्य भएको स्वीकार गरेका छन् । माओवादी हुँदा बखतका ती सबै मुद्दाले पक्षमा फैसला गरेर अदालतले आफूलाई सफाइ दिइसकेको समेत उनले दाबी गरे ।

‘०६२/६३ पछि म माओवादी पृष्ठभूमिमा वाइसिएलमा लामो समय रहेर मोर्चा सम्हाल्दा तत्कालीन युथ फोर्ससँग धेरै झडपहरू भए । त्यसक्रममा मेराविरुद्ध केही फौजदारी मुद्दाहरू दर्ता भएकै हो । तर, त्यसरी राजनीतिक रूपमा भएका द्विपक्षीय झडपहरूका सन्दर्भमा दर्ता भएका सबै मुद्दामा अदालतबाट मेरो पक्षमा फैसला भएर सफाइ नै पाइसकेको छु,’ उनको दाबी छ ।

शनिबार काठमाडौंमा एमालेले भृकुटीमण्डपमा आयोजना गरेको बृहत् सभा र प्रदर्शनमा फोर्सलाई स्वयंसेवक दस्ताका रूपमा सडकमा उतार्दै छ । फोर्सलाई अध्यक्ष ओलीसहित नेताहरू, पार्टी कार्यालयको सुरक्षा, पार्टी कार्यक्रममा कतैबाट अवरोधको प्रयास भए प्रतिरोध गर्नेसम्मको जिम्मेवारी तोकिएको छ ।

फोर्सका संयोजक श्रेष्ठले आफूहरूले कानुन हातमा नलिने, तर साथमा लिएर एमालेविरुद्ध हुने अवरोध र हमलाको भने प्रतिरोध गर्ने घोषणा गरे । ‘हाम्रो घर जसरी लोकेसन ट्र्याक गरेर हेरिएको छ, हामीले पनि तपाईंहरूको हेरेका छौँ, तपाईंहरूको घरघर छिर्नेछौँ,’ उनले भने, ‘पार्टीको आशाअनुसार जहाँ भन्यो त्यहीँ भिड्न तयार छौँ । तर, कानुनलाई हातमा लिएर होइन, साथमा लिएर अगाडि बढ्छौँ ।’

फोर्स गठनमाथि पदाधिकारी तहमै असहमति 
फोर्स गठनबारे एमालेका पदाधिकारीहरू नै असन्तुष्ट देखिएका छन् । पार्टी महाधिवेशन घोषणापछि विधानले नचिन्ने गरी फोर्स बनाउन खोजिएको भन्दै बिहीबारको सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल र युवराज ज्ञवालीसहित केही पदाधिकारीले असन्तुष्टि जनाएका थिए । उपाध्यक्ष पौडेलेले पार्टी विधानले राष्ट्रिय विपत् र अन्य वेला केवल स्वयंसेवी संगठन मात्र बनाउने अनुमति दिएको भन्दै लडाकु चरित्रको संगठन निर्माणले पार्टीलाई बदनाम बनाउन सक्ने बताए । अर्का उपाध्यक्ष ज्ञवालीले फोर्सका कारण समाजमा द्वन्द्व निम्तिए पार्टी बदनाम हुने भन्दै विरोध गरेका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारी समूहका नेताहरू फोर्स गठनको विरोधमा छन् । नयाँपत्रिका दैनिक

समाचार वर्गहरू