काठमाडौँ – दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल वार्तामा बसे पनि निष्कर्षमा पुग्न सकेनन् । पार्टीभित्रको शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ । सहमतिको सूत्र पहिल्याउन कार्यदल तहमा बिहीबार फेरि वार्ता हुने भएको छ ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसलापछि उत्पन्न हुने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सरकारको निरन्तरताका लागि नेपालको ठोस प्रतिबद्धता खोजेका छन् । नेपालले भने विगतमा भन्दै आएको एक व्यक्ति एक पद, ओलीका राजनीतिक कदमको समीक्षादेखि पार्टीभित्रको भावी समीकरणसम्मका विषयमा ओलीबाट प्रतिबद्धता आउनुपर्ने विषय अघि सारेका छन् । उनले पार्टीका सबै संरचनामा आफ्नो विचार समूहको शक्ति सन्तुलनको विषय उठाएका छन् । ‘अरू विषयसहित दुई अध्यक्षमा पावर सेयरिङ गरेर एकता टुंग्याउनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ नेपाल पक्षका एक नेताले भने, ‘तर त्यसमा ओली कमरेड अझै सहमत हुनुभएको छैन । उहाँहरू (ओली–नेपाल) कार्यदल तहबाट टुंगिएर आओस् भन्ने सहमति गरेर वार्ताबाट उठ्नुभएको छ ।’ उनले सबै विषयलाई छिट्टै टुंगो लगाउने बताए ।
सुरुमा ओली–नेपालसहित महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो । उक्त छलफलमा कार्यदलमा भएका सहमतिबारे ब्रिफिङ गरिएको थियो । त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता रावलले जानकारी दिए । ‘औपचारिक रूपमा सक्रिय भएपछि कार्यदल र नेतृत्व तहमा पनि कुराकानी गर्ने भन्ने हाम्रो साझा दृष्टिकोण थियो । तद्अनुरूप उहाँहरूबीच वार्ता भएको हो,’ उनले भने, ‘कुराकानी सकारात्मक छ । अझै केही विषयमा छलफल आवश्यक परे तुरुन्तै वार्ता गर्ने सहमति भएको छ ।’
लामो समयपछि ब्युँतिएको कार्यदलको लगातार तेस्रो दिनको बैठकपछि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता सम्भव भएको हो । लगातार अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरूले आइतबार नै ओली र नेपालबीच भेटवार्ता गराउने कोसिस गरेका थिए । तर शीर्ष नेताबीच सहमति हुनुअघि कार्यदल ब्युँताउनुपर्ने र त्यसले बनाएको मस्यौदामा मात्र छलफल गर्न सकिने नेपालको अडानपछि ओली–नेपाल भेटवार्ता टर्दै गएको थियो । आइतबार राति नेपालपक्षीय नेता रावलले बालुवाटार पुगेर भेटवार्ता गरेपछि ओली झन्डै डेढ महिनादेखि निष्क्रिय कार्यदल ब्युँताउन सहमत भएका थिए ।
झन्डै डेढ महिनादेखि निष्क्रिय कार्यदल ब्युँतिएपछि सक्रिय भएको थियो । त्यसपछि भएको कार्यदलको पहिलो बैठकमा नेताहरूबीच अनौपचारिक तहमा भएका विषयवस्तुमा सामान्य छलफल भएको थियो । दोस्रो दिन मंगलबारको बैठकमा सहमति जुटाउनुपर्ने विषयमा सदस्यहरूले धारणा राखेका थिए । कार्यदलको तेस्रो दिन बुधबारको बैठकअघि झलनाथ खनाल–नेपाल पक्षका कार्यदल संयोजक रावलले कोटेश्वर पुगेर नेपालसँग भेट गरेका थिए । ‘करिब एक सातादेखि उहाँहरूबीच वार्ता गराउने प्रयास थियो तर सफल हुन सकेको थिएन,’ नेपाल पक्षका एक नेताले भने, ‘त्यही प्रयासअन्तर्गत नै बुधबार कार्यदलको बैठक बस्नुअघि रावलजी वार्ताका लागि माधव कमरेडलाई कन्भिन्स गर्न जानुभएको हो । त्यसपछि ओली र नेपाल कमरेडबीच वार्ता तय भएको हो ।’ कान्तिपुर बाट ।