शनिबार थप ७ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९

24

(काठमाडौं) – शनिबार नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गरी उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । भुल्केका १८, ४५ र ६० बर्षीया महिलामा संक्रमण फेला परेको हो ।

भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको हो ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित मध्ये अहिलेसम्म ३० जना निको भएका छन् ।

समाचार वर्गहरू