शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको छ – राष्ट्रपति पौडेल

172

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन् ।

दशरथ रङ्गशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।

उनले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णाधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने बताए।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।

उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भने, ‘यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीयस्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ ।’

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा सरकारले काम गर्दै आएको बताए। यस प्रतियोगिताबाट खेलाडीको उत्पादन हुनुका साथै खेलाडीको प्रतिभासमेत प्रस्फुटन हुने बताए।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि खेलाडी सहभागी भएकामा खुसी व्यक्त गरे । आजदेखि सुरु भएको पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ । उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल समावेश गरिएको छ ।

समाचार वर्गहरू