‘संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस’ – कानुनविद्

13

काठमाण्डौं – संविधानविद्हरुले सभामुखलाई पनि प्रतिनिधिसभा बैठक आह्वानका लागि सिफारिस गर्न सुझाव दिएका छन् ।

बिहीबार सभामुख अग्नि प्रसाद सापकोटाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै संविधानविद्हरुले संसद विघटन असंवैधानिक कदम भएकोले सभामुखले पनि संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न सक्ने सुझाव दिएका हुन् ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने सुझाव दिएका हुन् ।

‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ उनले भने, ‘मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन । अधिवेशनमात्रै नबसेको हो सर्वोच्चको फैसला बमोजिम प्रतिनिधिसभा जीवित छ ।’

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले सभामुख सापकोटालाई आवश्यक परेको खण्डमा कानुनी र संवैधानिक कदम चाल्न तत्पर हुन सुझाए ।

‘कानुनको छलफल र संविधानको व्यवस्था हेर्दाखेरी कुनै पनि गम्भीर प्रकारको कानुनी वा संवैधानिक कदम आवश्यक परे म चाल्न तयार छु भनेर तत्पर भएर सधैँभर क्रियाशील हुनुपर्दछ,’ उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले भने ‘किचनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर अंकगणित गरेर खेल खेल्नु भएको हो । यो निर्लज्ज छ,’ उनले भने ।

साथै संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमा घात गरेको बताउँदै संसद र प्रतिपक्षी दल मुकदर्शक बनेको बताए ।

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमा जुन घात गर्नुभो । त्यो सबैभन्दा ठूलो अपराध हो । त्यो राष्ट्रघात हो । संसद र प्रतिपक्ष त्यसप्रति मुकदर्शक भएकोमा मलाई आपत्ति छ,’ उनले भने ।

समाचार वर्गहरू