काठमाडौं । सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ। विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त विवरण सार्वजनिक गरिएको हो।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्काकाअनुसार विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मतका लागि सो रकम माग गरिएको हो।
यो बजेट सडकहरूलाई सुरक्षित र सुचारु अवस्थामा राख्नका लागि नियमित, पुनरावर्ती र आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो–इन्जिनियरिङ जस्ता कार्यमा खर्च गरिनेछ। सडक विभागले सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा वैज्ञानिक पद्धतिबाट यो योजना तयार पारेको जनाएको छ।
विभागका चारवटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरूमार्फत सडक खण्डहरूको तथ्याङ्क सङ्कलन गरी वेब–बेस्ड सफ्टवेयर प्रणालीमार्फत मर्मतको आवश्यकता र बजेटको पहिचान गरिएको प्रवक्ता खड्काले जानकारी दिए।
यस योजनाले निर्माण सम्पन्न भई मर्मतको चरणमा प्रवेश गरेका आयोजनाहरूको पहिचान र प्रमाणीकरण गर्ने कार्यलाई समेत सहज बनाएको छ। मर्मत कार्यलाई थप प्रभावकारी बनाएर नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा प्रदान गर्ने लक्ष्य विभागले राखेको छ। आगामी आर्थिक वर्षमा सडकको मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो एकीकृत योजना कोशेढुङ्गा सावित हुने विभागको विश्वास छ।