सत्तारुढ दलका सांसदले सदनमा जे बोल्दा पनि संविधान बाधक नबन्ने हो : कांग्रेस सचेतक निश्कल राई

63

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पराजुलीले न्यायाधीशहरूको विषयमा बोलेको भन्दै आलोचना गरे।

उनले भने, ‘महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारुढ दलकै एक वरिष्ठ माननीयज्यूले गरिमामय सदनको रोस्ट्रममा उभिएर दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काएर न्यायाधीशको बारेमा बोल्नुभयो।

यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा १०५ पढ्नुभएन कि ?’ नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसद्को कुनै सदनमा छलफल गरिने छैन भनी लेखिएको उल्लेख गरे।

उनले सोधे, ‘उहाँ संविधानभन्दा के माथि होरु के सत्तारुढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने होरु रोस्ट्रममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख टुलुटुलु हेरेर बस्न मिल्दैन। मैले हिजै उभिएर यस विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको थिएँ, तर मैले सोचेँ यो संसद्को गरिमा र संविधानसँग जोडिएको विषयमा सभामुख महोदय आफैँले रुलिङ गर्नुहुन्छ। तर सायद सभामुख महोदयको त्यसतर्फ ध्यान पुग्न सकेन।’

राई बोलेपछि रास्वपा सांसद पराजुलीले उठेर विरोध जनाए। पराजुली उठेपछि सभामुखले कुन नियमावली अनुसार विरोध होरु भन्दै प्रश्न गरे। सभामुखले हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको भन्दै पराजुलीलाई रोकेर सदन अगाडि बढाए।

समाचार वर्गहरू