काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका छन् । शुक्रबार अबेला सर्वोच्च अदालतको फैसला आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ उनले लेखेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
पार्टीका सदस्य र शुभेच्छुकहरू देशभित्र वा बाहिर जहाँ भए पनि अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास रहेको पनि उनले बताएका छन् ।
उनले थपे, ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ ।’
अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन सबै एक ढिक्का भएर अघि बढ्न पनि उनको आह्वान छ ।