सरकारले उच्च सतर्कता भन्दाभन्दै विपदमा गयो ५३ जनाको ज्यान

61

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सरकारले उच्च सतर्कता अपनाएको बताएको थियो।

सरकारले काठमाडौंमा उच्च सतर्कता अपनाइएको बताएका बेला इलाममा निकै ठूलो घटना भयो। शनिबार मध्यरातिको भीषण वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्यो। सुतिरहेका मान्छे पहिरोमा परे।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुुसार पहिरोले इलाममा ३७ जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिकामा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङसेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माईजोगमाई गाउँपालिकामा ८ जना र फाकफोकथुम गाउँपालिकामा १ जना गरी ३७ जनाको मृत्यु भएको उनले बताइन् । १ जना बेपत्ता छन्। पहिरोमा परी २० जना घाइते भएका छन् ।

त्यति मात्र होइन देशभर ५२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। जसमध्ये ४३ जना कोशी प्रदेशका छन् । इलाममा ३७, पाँचथरमा दुई, उदयपुरमा दुई जना, मोरङमा एकजना र खोटङमा एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले बताए। त्यति मात्र होइन कोशी प्रदेशमा कारण ५ हजार ९२५ घरपरिवार विस्थापित भएका छन्।

सरकारले काठमाडौंमा उच्च सतर्कता अपनाए पनि कोशीमा ध्यान दिन नसकेको भन्दै आलोचना भइरहेको छ। तर, विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले इलाममा ठूलो पानी पर्ने आकलन रहे पनि निकै ठूलो क्षति भएको बताइन्। ‘हामीले आकलन नै गरेका थिएनौं । यति धेरै क्षति भयो,’ उनले भनिन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान ०४ः३० देखि आइतबार बिहान ०४ः३० बजेसम्म मध्य र पूर्वी नेपालमा ठुलो वर्षा भएको थियो। बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो ।

समाचार वर्गहरू