काठमाडौँ — सहकारीको बचत अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले शीघ्र अनुसन्धान गर्न निर्देशन दिए पनि कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग सोधपुछ पनि गरिएको छैन । सहकारीको बचत दुरुपयोगमा संलग्न रहेको आरोपमा गत साउनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उनीविरुद्ध उजुरी परेको थियो ।
सत्तारूढ कांग्रेसका उपसभापति गुरुङमाथि श्रीमतीलाई अगाडि सारेर ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको उजुरी छ । हिनामिना खुलेपछि श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद गरेको आरोप पनि उनीमाथि लागेको छ । नेता गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र अर्का आरोपित ज्योतिबहादुर भण्डारीलाई पक्राउ गर्न इन्टरपोलले ‘रेड नोटिस’ जारी गरिसकेको छ ।
मितेरी सहकारीले गरेको आन्तरिक छानबिनमा ज्योति गुरुङ र ज्योति भण्डारीको मिलेमतोमा साँवा र ब्याज गरी १४ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकालिएको थियो ।
त्यसपछि सञ्चालक बोधविक्रम थापाले ज्योति गुरुङ, धनराज गुरुङ, ज्योति भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलगायत ११ जनामाथि छानबिन र कारबाहीको माग गर्दै गत साउनमा वाग्मती प्रदेशको सहकारी मन्त्रालयमा उजुरी दिएका थिए । त्यतिबेलै सीआईबीमा पनि उजुरी परेको थियो तर सीआईबीले सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा संघ मातहतको सहकारी, सरकारी, संसदीय छानबिन अध्ययन प्रतिवेदनका आधारमा मात्रै अनुसन्धान गर्न सकिने भन्दै पन्छाएको थियो ।
उजुरीपछि प्रदेश सहकारी मन्त्रालयले भने धनराजसहित ६ जनाको नाम हटाएर सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । वाग्मतीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री र कांग्रेसकै विमल ठकुरी सहकारीमन्त्री रहेकाले केन्द्रीय उपसभापति गुरुङलाई जोगाउन नाम हटाइएको भनी आलोचना हुँदै आएको छ ।
धनराजकै सिफारिसमा सहायकस्तरको कर्मचारीमा ज्योति गुरुङ २०५७ जेठ १२ मा मितेरीमा प्रवेश गरेकी थिइन् । उनी २०५७ साउन २५ मा लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल हुँदै २०७५ वैशाख ४ मा संस्थाको महाप्रबन्धक भइन् । रकम हिनामिनापछि सहकारी सञ्चालकहरूले धनराज र ज्योति गुरुङसहितलाई उपस्थित गराएर २०७६ पुस १६ मा छलफल गराएका थिए । त्यसको दुई महिनापछि धनराज र ज्योतिले ललितपुर अदालतमा सम्बन्धविच्छेद गरेका थिए । तर एक वर्षपछि धनराजले सहकारीबाट ऋण लिँदा श्रीमतीको नाममा ज्योति गुरुङ नै उल्लेख गरेका थिए ।
सहकारी ठगीबाट बच्न नक्कली सम्बन्धविच्छेद गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । ‘मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘यी सबै नक्कली कारोबारका शृंखला हुन् ।’ समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपस्थित गराउन गृहलाई पत्राचार गरेको थियो ।
सीआईबीले भने सहकारी ठगीमा धनराज गुरुङको संलग्नता खोज्नका लागि अनुसन्धान चलिरहेको दाबी गरेको छ । मितेरी सहकारी, खातावाला बैंक र राष्ट्र बैंकबाट कागजात मगाउन पत्राचार भएको पनि सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । ‘सहकारीका सञ्चालक र बचतकर्तालाई बोलाएर सोधपुछ र कागजात गराउँदै छौं । सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाउने तयारीमा छौं । सबैसँग सोधपुछ गरेर कागजात गराएपछि र थप कागजात आएपछि आवश्यक परे धनराज गुरुङसँग सोधपुछ गर्छौं,’ उनले भने ।
प्रदेशको सहकारी मन्त्रालयले पठाएको पत्रमा मुख्य प्रतिवादीमा ज्योति गुरुङ र ज्योति भण्डारीको नाम रहेको तर धनराजको नाम नलेखिएको सीआईबीका प्रवक्ता बोगटीको भनाइ छ । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने धनराज गुरुङको नाम उल्लेख गरेर उजुरी दिँदा सीआईबीले दर्ता नै गर्न नमानेको बताए । ‘हाम्रो संस्थालाई अन्याय भइसकेको छ । सीआईबीले धनराज गुरुङको नामसहित उजुरी दर्ता गर्न मानेन । नाम मेटाएपछि मात्र दर्ता हुन्छ भनेको हो,’ उनले भने, ‘संसदीय छानबिन विशेष समितिले पनि धनराज गुरुङलाई थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ तर अनुसन्धानमा बोलाइँदैन, किन हो ?’
प्रतिनिधिसभाका सदस्य सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रार कार्यालय हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ’ भनिएको छ । कान्तिपुर दैनिक