सहकारीबाट गोर्खा मिडियामा ल्याइएको रकम तलबबाहेक पनि रवि र निकिताको खातामा

37

चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको अभियोगमा रास्वपाका संस्थापक सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । योसहित साहारा सहकारी ठगीमा अभियुक्तको संख्या ३२ पुगेको छ ।

यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज ८ मा सरकारी वकिलको कार्यालयले लामिछानेलगायतलाई छुटाएर १७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । त्यस क्रममा सरकारी वकिलको कार्यालयले ‘उक्त सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको’ भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

अदालतमा पेस भएको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क स्थापनाका लागि ‘सिडमनी’का रूपमा साहारा सहकारीबाट एक करोड रुपैयाँ लगेको उल्लेख छ । योसहित उक्त सहकारीबाट ठगी गरी गोर्खा मिडियामा १० करोड ८० लाख १८ हजार लगिएको दाबी छ । यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८१४ चेकमार्फत विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार भुक्तानी गरेको अभियोगमा उल्लेख छ ।

अभियोगपत्रअनुसार, लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकम अरूलाई दिनुका साथै आफूले समेत तलबबाहेक २७ लाख लिएका छन् । श्रीमती निकिता पौडेललाई ५९ लाख ३८ हजार र गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार भुक्तानी दिएको देखिन्छ । गोर्खा मिडियाको आधिकारिक व्यक्ति हुनुअघि र अलग भइसकेपछि पनि केही चेकमा लामिछानेको हस्ताक्षरबाट कारोबार भएको भेटिएको छ ।

२०७९ असार १ मा गोर्खा मिडिया छोडेका लामिछानेले असार ७ मा पार्टी घोषणा गरेका थिए, सुशासनको अभियानसहित रास्वपा घोषणा गरेको पाँच दिनपछि असार १२ मा उनले गोर्खा मिडियाको खाताबाट ७१ लाखको चेक काटेको र त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७४९ को चेक काटेर रकम लिएको भेटिएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६७ करोड ८७ लाख ७० हजार २२ रुपैयाँ आएको विवरण पनि अभियोगपत्रमा छ । अध्यक्ष जीबी राई र लामिछानेको संयुक्त हस्ताक्षरका ६ वटा चेकबाट ६० लाख १९ हजार रुपैयाँ अन्यत्र भुक्तानी भएको उल्लेख छ ।

जीबी राईले ठगी गर्ने नियतले नै सहकारी सञ्चालन गरेर टीभी चलाएको र लामिछानेलगायतले साथ दिएको अभियोग छ । ‘यी प्रतिवादी रवि लामिछाने, जीबी राई भन्ने गितेन्द्रबाबु राईले सहकारीको बचत ठगी गर्ने नियत राखी सञ्चालनमा ल्याएको गोर्खा मिडियामा सेयरधनी तथा प्रबन्ध निर्देशकको हैसियतमा रही उक्त प्रालिको खातासमेत आफ्नो दस्तखतले सञ्चालन गरेको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

साहारा चितवन सहकारीका पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता नपाएर ठगिएको भन्दै २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धान निकै सुस्त भएको भन्दै पीडितले संघर्ष समिति बनाएर दबाबमूलक अभियानसमेत चलाउँदै आएका छन् ।

लामिछाने २०७७ चैतमा सेयर होल्डरका रूपमा गोर्खा मिडियामा प्रवेश गरी २०७९ असार २ मा अलग भएको देखिए पनि गोर्खा मिडियाको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र प्रालिबाट अलग भएपछि पनि केही चेकमा हस्ताक्षर गरेको अभियोगपत्रमा उल्लेख छ ।

‘लामिछानेको हकमा सहकारीबाट गैरकानुनी रूपमा कम्पनीमा गएको रकम ठगी देखियो । जसले सहकारीको रकम प्रत्यक्ष लगेका छन् र सहकारीबाट रकम गएको एकबाहेक अन्य कम्पनीमा पनि जोडिएका छन्, त्यसलाई संगठित अपराध र अन्यलाई ठगीमा मात्र मुद्दा दायर भएको छ,’ सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले भने ।

चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले लामिछानेसहित साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा ३२ जनाविरुद्ध मुद्दा दायर भएको बताए । ३२ मध्ये १२ जनालाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ । लामिछानेसहित २० जनाविरुद्ध सहकारी ठगीमा मात्र मुद्दा दायर भएको छ ।

लामिछानेलाई गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा मुद्दा दायर भएको हो । जीबी राई, नेत्रपाणि बास्तोला, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी र दीपक लामाविरुद्ध भने ठगी र संगठित अपराधमा मुद्दा दायर भएको हो । लामिछानेसहित प्रगति श्रेष्ठ, विज्ञान राई, लक्ष्मीप्रसाद पौडेल, महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङ, छत्रमणि भट्टराई, वीरबहादुर रानाभाट, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, थमन भन्ने थानबहादुर बुढामगर र शरण विश्वकर्माविरुद्ध ठगीमा मात्र मुद्दा दायर भएको छ । रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तमाङ, असरफ अली र भगवती बम्जनविरुद्ध पनि ठगीमा मात्र मुद्दा दायर गरिएको हो ।

सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार रुपैयाँ चार जनाको सामूहिक दायित्वमा हुने गरी बिगो मागदाबी गरिएको छ । ‘गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी, लक्ष्मीप्रसाद पौडेल, रवि लामिछानेसहित चार जनाबाट सामूहिक दायित्वमा हुन आउने बिगो असुलउपर गराई पाउँ भन्ने मागदाबी छ,’ सरकारी वकिल लुइँटेलले भने । त्यसैगरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय गर्न पनि माग गरेको उनले बताए । ‘यो भनेको सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हो,’ उनले भने ।

लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रमणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ पूरक अनुसन्धानपछि थपिएका हुन् ।

साहारा सहकारीमा ६ हजार ३ सय ३४ बचतकर्ता छन् । गत वर्ष उजुरी दिएका ४ सय ४६ पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान भएर गत असोजमा मुद्दा दायर हुँदा उजुरीकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ भराउनुपर्ने देखिएको थियो । पूरक जाहेरी दिने थप बचतकर्ताले ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ फिर्ता पाउन माग गरेका छन् ।

साहारा सहकारीको रकम गोर्खा मिडियाबाहेक नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८ सय ९७ रुपैयाँ, जीबी ग्रुप अफ कम्पनी प्रालिमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४ रुपैयाँ, स्प्रिङ उड रियल स्टेट एन्ड हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रुपैयाँ र नेचर नेस्ट कम्पनी प्रालिमा ६ करोड ५१ लाख १० हजार ३ सय २२ रुपैयाँ गएको देखिएको छ । त्यसैगरी गोर्खा ग्रुप अफ मल्टी इन्भेस्टमेन्ट प्रालिमा १७ लाख ५८ हजार रुपैयाँ गएको देखिन्छ ।

यी कम्पनीका मुख्य सञ्चालक जीबी राई हुन् । राईले व्यक्तिगत रूपमा पनि साहारा सहकारीबाट ४१ हजार रुपैयाँ लगेको देखिएको छ । त्यसैगरी असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट २ करोड ६४ लाख पनि साहारा सहकारीमा भराउनुपर्ने अभियोगपत्रमा उल्लेख छ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछाने हाल निलम्बित छन् । कान्तिपुर दैनिक

समाचार वर्गहरू