सांसदहरूलाई ओलीको निर्देशन सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्नु

49

काठमाडौं – प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

उनले विपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नअल्मिनसमेत सुझाव दिए। ओलीले देश र जनतालाई सर्वोपरी राखेर सरकार अघि बढिरहेको बताए।

‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको छ, कुनै एउटा बुँदाको पनि विपक्षीहरूले समर्थन गर्ने छैन, केहीको पनि समर्थन गर्दैन किनभने विपक्षी हो,’ उनले भने,‘त्यसैले विपक्षीले भनेको कुरामा सत्यता छ भनेर धेरै घोत्लिनुपर्ने आवश्यकता छैन। किनभने सत्य भए पनि असत्य भए पनि उहाँहरूले विरोध गरिहाल्नु हुन्छ। असत्य हामीले लेखेकै छैनौँ, उहाँहरूले विरोध गर्ने भनेको सत्यकै हो।’

विपक्षीहरुले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले पार्टीका सांसदहरूलाई निर्देशन दिए। ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रुपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरुलाई निर्देश दिए।

समाचार वर्गहरू