सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरोले-१३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कबिहीन छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि संख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए ।
१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको नेपालले जानकारी दिए । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ‘सुरक्षाकर्मी घटनास्थल पुग्दै छन्, तत्कालै उद्धारका लागि जुट्नेछन् ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।