सिन्धुपाल्चोकमा स्वास्थ्य शिविरबाट ५ हजार ३ सयले लिए सेवा

112

काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा दुई दिन चलेको स्वास्थ्य शिविरबाट ५ हजार ३ सय ५१ जना नागरिकले सेवा लिएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरूले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको प्रमुख दुर्गा बजगाईंले जानकारी दिइन्।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नं. ६ धाप र वडा नं. ७ भोटेनाम्लाङमा सञ्चालन गरिएको शिविरको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गरेका थिए।

‘प्रदेश भित्रका विकट र दुर्गम स्थानहरूमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा स्वास्थ्य मन्त्रालय लागेको छ’, मन्त्री थापामगरले भने– ‘प्रदेश सरकारले सुगममा मात्र नभएर दुर्गममा पनि स्वास्थ्य सेवाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्य राख्दै विभिन्न माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको छ।’

भौगोलिक विकटता र आर्थिक अभावका कारण शहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरूको सुविधाका लागि शिविरले फाइदा पुर्‍याएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए। ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरको प्रत्यक्ष लाभ लिएको उनको भनाइ छ।

समाचार वर्गहरू