सुकुम्बासी बस्ती हटाएपछि सरकारले आफ्नो जिम्मेवारी भुल्यो : उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ

14

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पुर्वउर्जामन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका नदी किनारबाट अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमले गम्भीर मानवीय संकट निम्त्याएको बताएका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको निधन भएपछि घिसिङले सरकारको विना योजनाको कदमप्रति आपत्ति जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले दर्जीको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उनले स्पष्ट र दिगो योजना विना नै सुरक्षा बल परिचालन गरेर जबर्जस्ती बस्ती हटाउँदा विस्थापितहरूले ज्यान गुमाउनु परेको दाबी गरे। ‘घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको दुःखद अवस्था छ,’ घिसिङले लेखेका छन्।

मृतक दर्जीको स्वास्थ्य अवस्था जटिल रहेको र उनलाई विशेष उपचारको आवश्यकता भए पनि समयमै आवश्यक उपचार र हेरचाह उपलब्ध हुन नसकेको तथ्य बाहिरिएको घिसिङले खुलाएका छन्।

यस दुखद घटनाले विस्थापित नागरिकको व्यवस्थापन, उनीहरूको स्वास्थ्य सुरक्षा र आधारभूत मानव अधिकारप्रति राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। बस्ती हटाउने कार्यमा सरकारले जति तत्परता देखायो, प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास र न्यूनतम मानवीय सुविधाको सुनिश्चिततामा पनि त्यस्तै संवेदनशीलता तथा जिम्मेवारी देखाउनुपर्नेमा उनले जोड दिएका छन्।

घिसिङले होल्डिङ सेन्टरमा अलपत्र अवस्थामा राखिएका नागरिकलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ जस्ता आधारभूत सुविधा उपलब्ध गराएर सम्मानजनक जीवनयापनको वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

समाचार वर्गहरू