काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।सोमबार नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।
मतदानका दिन अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम (ह्वीप) जारी गरिएको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए ।
सत्ता साझेदार रहेको नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शाह विश्वासको मत लिने बाध्यतामा परेका हुन् । संविधानको धारा १८८ को उपधारा २ अनुसार सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान राखिएको छ ।
सुदूरपश्चिममा हाल नेपाली कांग्रेसका १८ र अर्को सत्ता साझेदार दल एमालेका ११ सांसद छन् । दुवै दलका सांसदहरुले मात्रै पनि मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने अवस्था हुन्छ । ५३ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जनाको आवश्यकता पर्दछ । कांग्रेस र एमालेका सांसदको संख्या २९ पुग्छ ।
अहिलेकै अवस्थामा माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपा एक र एक जना स्वतन्त्र सांसद गरि २२ जना सांसद विपक्षमा देखिएका छन् ।