सुनको भाउ १ लाखमा झर्दैछ ?

99

काठमाडौं – पछिल्ला केही दिन सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि भाउ घट्दै गएको हो ।

गत शुक्रबार तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७३ हजार ८ सयमा झरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस ३ हजार १ सय ६५ अमेरिकी डलरसम्म पुगेको सुन सोमबार ३ हजार हाराहारीमा झरेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजार र शुक्रबार नेपालमा हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन लगातार झर्न थालेको छ । सुनको भाउ घट्नुमा ठोस आधार नरहेकाले केही दिनमै यो गिरावट अन्त्य हुने अनुमान छ ।

अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गरेको अतिरिक्त करमा सुनसहित बहुमूल्य धातु अलग गरिएको छ । पहिले नै सुनसहित बहुमूल्य धातुलाई पनि कर नीतिले प्रभाव पार्ने अनुमान सहित बजारमा खरिद बढेको थियो, तर ट्रम्प नीतिले सुनसहित धातुलाई अलग गरेपछि अहिले नाफा बुक भएको अनुमान छ ।

एक वर्षदेखि नै सुनको भाउले राम्रो वृद्धिदर समातेको थियो । यो वृद्धिले मुद्रास्फीति र आर्थिक मन्दीको चिन्ता थपिएको थियो । त्यसैले पछिल्ला दिनमा बिक्री चाप बढेको छ ।

‘३८ प्रतिशत घट्ने अनुमान हावादारी’

अमेरिकास्थित मर्निङस्टारका रणनीतिकार जोन मिल्सले सुनको मूल्य हालको उच्चतम बिन्दु प्रतिऔंस ३ हजार बढी रहेकोमा ३८ प्रतिशतसम्म झर्न सक्ने अनुमान गरेका छन् । उनको अनुमान मिल्न गए प्रतिऔंस १ हजार ८ सय २० डलर हाराहारी हुनेछ ।

‘सुनको भाउले लामो वृद्धिदर समात्नुमा विभिन्न डर कारक थिए,’ मिल्सले भने, ‘तर, अब मूल्यवृद्धिको अपेक्षा कम हुँदै जानु र व्यापार सामान्यीकरणको सम्भावनासँगै सुनको भाउ पुरानै बिन्दुतिर झर्न सक्छ ।’

उनको यही अनुमानलाई लिएर नेपाल सहित अन्य देशमा समाचार बनाइए । उनको अनुमान अनुसार नेपाली बजारमा सुनको भाउ १ लाख ११ हजारसम्म झर्न सक्ने छ । यसैलाई लिएर सुनको भाउ १ लाखमा झर्ने भन्दै शीर्षक तानिए ।

उनले मूल्यवृद्धिको अपेक्षा कम भएको बताइरहँदा मूल्यवृद्धि झन् बढ्ने संकेत देखिएको छ । अमेरिका र अन्य देशले एकअर्कालाई कर बढाएपछि स्वतः मुद्रास्फीतिमा दबाब पर्ने अमेरिकी केन्द्रीय बैंक ‘फेड’ का अध्यक्ष जेरोम पावेलले नै स्वीकारेका छन् ।

मेहता इक्विटजका उपाध्यक्ष राहुल कलन्त्रीले सुनको प्रमुख समर्थन मूल्य प्रतिऔंस २ हजार ९ सय ७८ डलरदेखि ३ हजारसम्म रहेको औंल्याएका छन् । त्योभन्दा तलको समर्थन मूल्य अनुमान गर्नुपर्ने बेला नभएको उनले बताए ।

उनको प्राविधिक अनुमानलाई आधार मान्दा सुनको भाउ अब धेरै घट्ने छैन । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३० डलर हाराहारीमा कारोबार भइरहेको छ । यस दिन कारोबार क्रममा सुनको भाउ प्रतिऔंस २ हजार ९ सय ७८ मा सम्हालिएको छ । एजेन्सी

समाचार वर्गहरू