(काठमाडौं) – कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई ध्यानमा राख्दै पशुपतिमा विशेष पूजा नगरिने भएको छ । सोमबारदेखि पशुपतिमा विशेष पूजा अनिश्चितकालका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
गत शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको कोषले जनाएको छ । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।
कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा कोरोना भाइरसको सतर्कता लागि २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।
पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर टाढाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।
पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय अपनाइएको छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि अहिलेलाई स्थगित गरिएको छ ।