स्वास्थ्यमन्त्री बस्नेत र सांसद कार्कीले अख्तियारमा दिए बयान

19

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र कांग्रेस नेता तथा पुर्व मन्त्री सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन् ।

करिब सवा ३ अर्ब रुपैयाँका उपकरण खरिद प्रकरणको अनुसन्धानमा तानिएका बस्नेतले बिहीबार र कार्कीले मंगलबार काठमाडौं टंगालस्थित अख्तियार कार्यालयमै बयान दिएका हुन् ।

अख्तियारले अनुसन्धानका लागि पटक–पटक ताकेता गर्दा पनि उनीहरू बयानमा गएका थिएनन् । बस्नेत २०७४ र कार्की २०७८ मा सञ्चारमन्त्री रहेकाबेला कानुनअनुसार तलबाट प्रक्रियागत रूपमा आएका फाइलबमोजिम काम गरेको भन्दै निर्णय प्रक्रियाको जिम्मा कर्मचारी तहलाई थोपरेर दुवै पन्छिन खोजेको अख्तियार स्रोतले बतायो ।

अख्तियार स्रोतका अनुसार बस्नेतले बयानमा अवैध कलबाइपासका कारण राज्यले ठूलो धनराशि गुमाउँदै आएको र त्यसलाई रोकेर राजस्व वृद्धि गर्न टेरामक्स प्रविधिका उपकरण खरिद गर्ने निर्णय भएको जिकिर गरेका छन् । उपकरण खरिद प्रस्ताव प्राधिकरणबाट प्रक्रियागत रूपमा आएर मन्त्रालयले सदर मात्रै गरेकाले यसमा आफ्नो कुनै गलत मनसाय नभएको उनको दाबी छ ।

कार्कीले टेरामक्स खरिदको निर्णय लिनेदेखि बजेट छुट्याउने काम आफ्नो कार्यकालमा नभएर अघिल्ला मन्त्रीहरूबाटै भएको बताएका छन् । सञ्चारमन्त्री कार्कीले पनि प्राधिकरण र मन्त्रालयका कर्मचारीबाट चरणबद्ध रूपमा आएका फाइल सदर गरेकाले आफूलाई यो प्रकरणमा आरोप लगाउनु गलत भएको दाबी गरेका छन् ।

अख्तियारले कार्की र बस्नेतलाई माघ पहिलो साता नै बयानका लागि टेलिफोनबाट डाकेको थियो । राष्ट्रिय सभाको निर्वाचनमा व्यस्त हुनुपरेका कारण देखाउँदै दुवै बयान दिन गएनन् । पछिल्लो पटक अख्तियारले पुनः लिखित पत्र काटेपछि मात्रै बयान दिन पुगेका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू