काठमाडौं – सरकारले २१ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार मात्र सबै मन्त्रालयका सचिवहरूसँग दिनभरि ब्रिफिङ लिएका थिए । भोलिपल्ट सोमबारको मन्त्रिपरिषद्को बैठकले २१ सचिवको सरुवा गरिएको हो ।
अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासनसचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय सरुवा गरिएको छ । श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ ।
त्यसैगरी, उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने सञ्चारसचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।
अख्तियार सचिव रामेश्वर दंगाललाई रक्षामा सरुवा गरेर रक्षासचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको छ । वित्त आयोगका सचिव मधुसुदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालय पठाइएको छ भने वाणिज्यसचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयमा राजस्वसचिव बनाएर ल्याइएको छ । खानेपानी मन्त्रालयको सचिवमा नेपाल ट्रस्टकी सचिव प्रमिलादेवी बज्राचार्यलाई ल्याइएको छ ।
राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मालाई लोकसेवा आयोग पठाएर लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेर त्यहाँ खानेपानीसचिव सुरेश आचार्यलाई पठाइएको छ ।
भौतिकसचिव गोपाल सिग्देललाई जल तथा ऊर्जा आयोगमा लगिएको छ भने सतर्कता केन्द्रका सचिव रामआधार साहलाई नेपाल ट्रस्टको कार्यालय पुर्याइएको छ । प्रधानमन्त्री कार्यालयका नारायणमणि दुवाडीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याएर पोखरेलको ठाउँमा दुवाडीको सरुवा गरिएको छ । नयाँपत्रिका दैनिक