७ महिना २० दिनका लागि मुख्यमन्त्री बने बानियाँ – यस्तो बन्यो बागमती सरकार

221

काठमाडौं – बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।

बानियाँ जम्मा ७ महिना २० दिन मात्र मुख्यमन्त्री हुनेछन् । मंगलबार मुख्यमन्त्री भएका बानियाँले नैतिकताका आधारमा आगामी चैत ७ गते पद छाड्नुपर्नेछ ।

२०८१ असार १७ गते राति काठमाडौंमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार बागमती प्रदेशमा मुख्यमन्त्री २०-२० महिना चलाउने सहमति बनेको हो ।

पहिलो २० महिना कांग्रेसले र त्यसपछिको २० महिना एमालेले मुख्यमन्त्री लिने सहमतिअनुसार २०८२ चैत ७ गतेपछि एमालेको पालो आउनेछ ।

बानियाँले सोमबार दिउँसो नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेर मंगलबार मुख्यमन्त्रीको शपथ खाएका छन् ।

सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ ।

नेपाली कांग्रेसबाट शपथ भएका मुख्यमन्त्री र मन्त्रीहरू

१. इन्द्रबहादुर बानियाँः मुख्यमन्त्री

२. कृष्णकुमार तामाङः खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय

३. शिवराज अधिकारीः बिना विभागीय मन्त्री

नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू

१. मधुसुदन पौडेलः कृषि तथा पशुपंछी विकास मन्त्री

२. डा. दिनेश चन्द्र देवकोटाः भौतिक पूर्वाधार विकासमन्त्री

३. जयराम थापाः श्रम रोजगार तथा यातायात मन्त्री

४. भरतबहादुर केसीः वन तथा वातावरणमन्त्री

५. किरण थापाः स्वास्थ्य मन्त्री

६. बिन्दु श्रेष्ठः उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री

समाचार वर्गहरू