काठमाडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आइतबार राजधानीबाट पक्राउ गरेको पुष्टि गरेको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘पूर्वसभामुख कृष्णबहादुर महरालाई भन्सार ऐन, २०६४ र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको छ ।’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरालाई सोही प्रकरणमा बयानका लागि बोलाएर सोधपुछ गरेको थियो । सोही बयानपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
महराको पक्राउले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । माओवादीभित्रै पनि यस घटनाप्रति असहजता देखिएको छ । केही नेताहरूले यो घटनालाई राजनीतिक प्रतिशोध भनेर व्याख्या गरेका छन् भने अर्का समूहले न्यायिक अनुसन्धानमा कोही पनि माथि होइन भन्ने धारणा राखेका छन् ।
अनुसन्धानपछि पर्याप्त प्रमाण फेला परेमा सुन तस्करी तथा संगठित अपराधअन्तर्गत महरामाथि सजाय माग गरी मुद्दा दायर गरिने प्रहरीको भनाइ छ ।