कांग्रेसका पूर्वकार्यवहाक सभापति खड्कामाथी कारबाहीको तयारी

90

काठमाडौँ । पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको तयारी गरेको छ । खड्काले ‘कावा सभापति’कै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेस कारबाहीको तयारीमा लागेको हो । आज (बुधबार) कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ ।

त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ विरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो ।

केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरी अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

अनुशासन समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी अनुशासन नमान्ने जोकोही कारबाहीको दायरामा पर्ने बताए । पूर्णबहादुर खड्कालाई कारबाही गर्न अनुशासन समितिको बैठक बोलाउनुभएको हो ? भन्ने प्रश्नमा संयोजक गुरुङले गल्ती गर्ने कोही संरक्षित नहुने बताए । बैठकमा उनले भने, ‘पार्टीमा सबै अनुशासनमा बस्नुपर्छ । अनुशासन नमान्ने हो, विधानभन्दा दायाँबायाँ गर्ने हो भने त कारबाही भइहाल्छ नि।’

सभापति गगनकुमार थापाले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन् । मंगलबारदेखि सुरू जरा अभियानमा उनले अब धेरै नसहने बताएका छन् । ‘म सभापतिको हैसियतले भन्दैछु, मलाई सहयोग गर्नुहोला । सहयोग गर्न नसक्नेले डिस्टर्व नगर्नुहोला । पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधिको सीमा नाघ्ने हो भने सहने कुरा हुँदैन,’ थापाले भने । खड्काले निर्वाचन आयोगको निर्णयमा समर्थन नभएकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिका रूपमा आफू कायमै रहेको बताएका छन् ।

समाचार वर्गहरू