कानुनसम्मत आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई कांग्रेस सभापति गगन थापाको आग्रह

13

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू प्रतिपक्षमा भए पनि लोकतन्त्रको मूल मान्यता ‘रुल अफ ल’ लाई केन्द्रमा राखेर विषयहरू उठाइरहेको बताएका छन् । बागमती प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रममा बोल्दै कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्री, पार्टी सभापति वा म स्वयं किन नहोस् राज्यको निकायले अनुसन्धान गर्छु भनेर भन्छ, त्यसका केही आधारहरू छन् भने त्यो अनुसन्धानमा सहयोग गर्ने काम प्रत्येक व्यक्तिको हो । भोलि गएर अहिलेको सरकारले गगन थापामाथि केही हामीले कैफियत भेटेका छौँ, अनुसन्धान गर्नुपर्छ भनेर भन्दै गर्दा हाम्रो कांग्रेसको सभापतिले अनुसन्धान गर्न पाइँदैन भनेर अरूले भने पनि कांग्रेसले भन्दैन ।’

राज्यका निकायले अनुसन्धान गर्नुपर्ने आधार भए त्यसमा सहयोग गर्नु सबैको दायित्व भएको बताए । राज्य पनि कानुनभन्दा माथि हुन नहुने भन्दै अनुसन्धान प्रक्रिया ‘सेलेक्टिभ’ हुन नहुने प्रश्न उठाए । उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र चयनात्मक भएको टिप्पणी गरे ।

उक्त प्रतिवेदनले २४ गते भएको घटनाबारे पर्याप्त सम्बोधन नगरेको उल्लेख गर्दै उनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे । कांग्रेसले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै आएको बताए ।

उनले थपे, ‘म मन्त्री भएको छु, मेरो पनि छानबिन होस् । तर यो प्रक्रिया कानुनसम्मत र निष्पक्ष हुनुपर्छ, व्यक्तिविशेष छानेर होइन। गलत तरिकाले आर्जित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्छ ।’

समाचार वर्गहरू