बजेट प्रचार र वितरणमुखी केन्द्रीत, सर्वसधारणलाई सरकारले समेट्न सकेन : प्रतिपक्षी साँसद

75

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले पहिलो पटक ल्याएको बजेट वितरणमुखी र सर्वसाधारणलाई फाईदा नहुने बजेट ल्याएको विभिन्न सांसदहरुले प्रतिकृया दिएका छन् । यसैक्रममा नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ।

बजेट सार्वजनिक भएपछि कांग्रेसका सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताएका छन् । उनले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन।

राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ। बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन।’ यसपटकको बजेट विगतकै निरन्तरता जस्तो देखिएको प्रतिक्रिया दिए। यद्यपि कर प्रणाली र कर व्यवस्थापनमा केही परिवर्तन गर्न खोजिएको भन्दै त्यसलाई सकारात्मक पक्षका रूपमा टिप्पणी गरे।

सरकारले अनौपचारिक अर्थतन्त्रलाई समेट्ने प्रयास गरेको छ र त्यसतर्फ केही जोड दिन खोजिएको देखिएको बताए। यसैगरी , नेकपा एमालेका सांसद गुरु बरालले बजेटले आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । बजेट भाषणपश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले आधारभूत वर्गलाई सरकारले समेट्न नसकेको बताएका हुन् ।

‘आधारभूत वर्गका लागि अवसर बृद्धि गर्ने खालका योजना र कार्यक्रमहरु समेटेको छैन,’ उनले भनेका छन् । मध्यम वर्गलाई विस्तार गर्नेगरी ढोका खोल्न नसकेको पनि उनले बताए । ‘मध्यम वर्ग बिस्तारको कुरा उठाइएको छ । तर त्यसलाई व्यावसायीकरण गर्ने, क्षमतालाई अभिबृद्धि गर्ने र उनीहरुको उद्यमशीलता विकास गर्ने तर्फ ढोका खोल्न सकेको छैन,’ बरालले भने ।.

सामाजिक सुरक्षाका कार्यक्रमबाट सरकार पछि हट्न खोजेको पनि उनले बताए । ‘सक्नेले छोड्ने, नसकेकोलाई जोड्ने भनेर पछि हट्न खोजेको छ,’ बरालले भने । यसैगरी, नेकपाका सांसद वर्षमान पुनले बजेट आकारमा निक्कै ठुलो भएको बताएका छन्। सरकारले बजेटे मिश्रित खालको ल्याएको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘यो बजेट निकै ठुलो देखियो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ २० खर्ब वरिपरि थियो। त्यसमा डेढ खर्बभन्दा बढी बढाइएको छ।’ सरकारले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर वितरणमुखी बजेट ल्याएका आशंका व्यक्त गरे। कृषि क्षेत्रमा सुधार, युवा स्वरोजगारलगायतको उलेख्य कार्यक्रम ल्याउन नसकेको बताए।

समाचार वर्गहरू