मन्त्रीको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास

24

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको दायाँ-बायाँ बराबर संरचना भत्काउनुपर्नेमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सिनेमा हल जोगाउन एकतर्फको मात्रै संरचना भत्काएको छ । राज्यमन्त्री मानन्धरको काठमाडौं-१६, बालाजुस्थित अष्टनारायण चलचित्र भवन जोगाउनकै लागि प्राधिकरणले एकातर्फको मात्रै सडक भत्काएको स्थानीयबासीको आरोप छ ।

प्राधिकरणले सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्काएको सात वर्ष भएको छ। सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । ‘हामी विकासविरोधी होइनौं । तर, विभेदपूर्ण सडक विस्तारको मात्रै विरोधमा छौं’ मानन्धर भन्छन्, ‘पहुँचवालाको घर जोगाउन ३८ परिवारलाई घरविहीन बनाइएको छ ।’

बालाजु चक्रपथ क्रसिङदेखि बालाजु बजार हुँदै नगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा प्रशाखा सडकको १४ मिटरमा निजी संरचना निर्माण गर्न नपाइने उल्लेख छ ।

राज्यमन्त्री मानन्धरको चलचित्र भवन यो सडकको पूर्वतर्फ पर्छ । प्राधिकरणले  ६ वर्ष भइसक्दा पनि सडकको पूर्वतर्फ एक इन्च पनि फराकिलो नबनाइएको स्थानीयवासी बताउँछन् । अर्का स्थानीय महेश्वर मानन्धर भन्छन्, ‘सरकारले पहुँचवालालाई काखा र निमुखालाई पाखा नगरेर समान रूपमा सडक विस्तार नगरेको भए हामी घरबारविहीन हुँदैन’थ्यौं ।’

संयोग कस्तो छ भने अहिले भत्काइएका स्थानीयलाई राज्यमन्त्री मानन्धरले नै स्वःबासीको प्रमाणपत्र दिएका थिए । राज्यमन्त्री मानन्धर वडाध्यक्ष भएका बेला २०५९ मा उनले ४६ घरलाई स्वःवासी प्रमाणपत्र वितरण गरेका थिए ।

समाचार वर्गहरू