काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३६ महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।