अनामनगरस्थित धोबीखोला करिडोरको सात तले घरमा लाग्यो डोजर

5

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरको सात तले घरमा पनि डोजर चलेको छ । सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा आज डोजर चलेको हो । घरको केहीभाग मात्रै भत्काएर अहिले डोजर फर्काइएको छ ।

घरका विभिन्न तललामा डोजरले क्षति पुर्‍याएको छ । साततले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको बताइएको छ ।

घर भत्काउन दुईवटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो । साततले घरको पाँच तल्लासम्म डोजरले ठुँगेको छ । बाँकी घर घरधनी आफैंले भत्काउनुपर्ने वा नपर्ने बारे केही बताइएको छैन । घरको अगाडि भागले सरकारी जग्गा छोएको भन्दै भत्काइएको हो ।

घरधनीले जग्गाको लालपूर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए ।

प्रशासनको अनुमतिमा महानगरको डोजरले घर भत्काएपछि घरधनी इन्द्र चाम्लिङले घर आफूले करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताए । उनले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा सरकारलाई राजस्व तिर्दै आएको दाबी गरे।

उनले भने, ‘वडा कार्यालयबाट नक्सा पास गराएर सबै प्रक्रिया पुर्‍याएर बनाएको घरमा आज अचानक डोजर चल्नुले मलाई अचम्मित बनाएको छ ।’ उनले आफ्नो घरमा भएको क्षतिप्रति चित्त दुखाउँदै प्रशासनको काम गर्ने शैलीमाथि प्रश्न उठाए।

घर भत्काउने कार्य भइरहँदा घरधनी चाम्लिङले प्रधानमन्त्री बालेन शाहलाई एक ‘देशभक्त नेता’ को रूपमा स्वीकार गरे । उनको काम गर्ने जोशको प्रशंसा गरे पनि आफूसँग भेटघाट र छलफलको मौका नदिइएकोमा गुनासो गरे। उनले भने, ‘हामीले उहाँलाई भेट्न धेरै प्रयास गर्‍यौँ, तर सफल हुन सकेनौँ। एउटा नागरिकको कुरा सुनिदिएको भए अझ राम्रो हुने थियो।’

घरधनी चाम्लिङले आफ्नो पीडा व्यक्त गर्ने क्रममा एउटा रोचक र व्यङ्ग्यात्मक टिप्पणी समेत गरे। उनले भने, ‘म चाहन्छु कि नेपालका सबै सुकुम्वासीहरूको पनि यस्तै ७ तले घर होस् र उनीहरू पनि महलमा बस्न पाऊन्।’ आफूले दुःख गरेर बनाएको सम्पत्तिमा डोजर चल्दाको पीडालाई उनले सुकुमबासी व्यवस्थापनको प्रसङ्गसँग जोडेर सरकार र महानगरको नीतिको आलोचना गरे।

महानगरले खोला किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको हो। घरधनी चाम्लिङले अदालतको आदेश र आफ्नो प्रमाणका बारेमा कुरा गरे पनि महानगरले भने कानुनी प्रक्रिया पुर्‍याएरै अवैध संरचना हटाइएको जनाएको छ। उक्त भवन व्यवसायिक रुपमा प्रयोग हुँदै आएको थियो । त्यहाँ मिडिया कार्यालयदेखि होटेल रेस्टुरेन्टहरू सञ्चालनमा थिए।

समाचार वर्गहरू