दाहाल–नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन

19

काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् ।

काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो । यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ ।

संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम रहेको छ ।

फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म सार्वजनिक स्थलमा हस्ताक्षरको कार्यक्रम रहेको छ । यो समूहले फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने संघर्ष समितिले बताएको छ । १० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ऱ्याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।

पार्टीको युवा संगठन, दलित मोर्चा, मधेसी, आदिवाशी जनजाति, मुस्लिम, थारु, पिछडिएको क्षेत्र तथा पार्टी कमिटी र जनवर्गीय संगठनहरुले पनि विरोधका कार्यक्रम जारी राख्ने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाचार वर्गहरू