नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र अन्तरिम विधान तयार

11

काठमाडौँ – नेकपा एमालेबाट निस्किएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार भएको छ ।

प्रस्तावित पार्टीका अध्यक्ष नेपालले पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका ४६ जना केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको नेतृ रामकुमारी झांक्रीले बताइन ।

उनका अनुसार घोषणा पत्रमा, ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ ।’

घोषणा पत्रमा, ‘नेपाली समाज आधारभुत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ । यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मुल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ।’ आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको पनि उल्लेख छ ।

नेपालले बैठकमा ६ पेज लामो घोषणा पत्रसँगै ४३ पेज लामो अन्तरिम विधान पनि छलफलका लागि पेश गरेका हुन् ।

समाचार वर्गहरू