काठमाडौं – अवैध रूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्।
ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जनाएको हो। दूतावासले उनीहरू सकुशल रहेको र उनीहरूलाई सहायताका लागि तयारी भइरहेको पनि उल्लेख गरेको छ।
दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
अवैध रुपमा विदेशी नागरिक तेस्रो मुलुक आउन थालेपछि ब्राजिल सरकारले आफ्नो देशको प्रवेशाज्ञा लिएकालाई मात्रै प्रवेश अनुमति दिने निर्णय पनि गरेको छ।
दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने पनि स्पष्ट पारेको छ। साथै आवश्यक कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ।