काठमाडौं – रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा पनी सोमबारदेखि तीन दिनका लागि बिदा दिइएको छ । सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।
खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम पुग्ने क्रम केही दिन अघिदेखि चलिरहेको छ । तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर सोमबारदेखि दिनमा तीन पटक सञ्चालनमा ल्याइएको छ ।
कम्पनीले आइतवार, सोमवार र मङ्गलवार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । जनकपुरधामबाट बिहान पौने ११ बजे दिउँसो १ बजेर ४० मिनेटमा र बेलुका सवा ५ बजे जयनगरका लागि रेल छुट्ने बताइएको छ ।