इरानस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार

20

रासस – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आइतवार तीन रकेट प्रहार भएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो । हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन । तर वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।

आइतवार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुई वटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको बताए । तर घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा मिशनमा कार्यरत इराकी स्टाफ सदस्य हुन या होइनन् भन्ने कुरा पुष्टि भएको छैन ।

इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भत्र्सना गर्दै यस्तो अवस्थाले इराकलाई युद्धमा तान्ने जोखिम रहेको बताएका छन् । अमेरिका र इरानमा गत महिनाबाट शुरु भएको तनावको बीचमा इराक परेको छ ।

समाचार वर्गहरू