कांग्रेस मुद्दा: गगन पक्षको बहस सकियो, देउवा पक्ष जवाफी बहस गर्दै

99
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी मुद्दाको बहस अन्तिम चरणमा पुगेको छ। बहस सकिएपछी आजै आदेश आउने सम्भावना रहेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिनदेखि चलिरहेको बहस अन्तिम चरणमा पुगेको हो। शुक्रबार कांग्रेस सभापति गगन थापाको पक्षबाट कानुन व्यवसायीले बहस गरेका छन्।

सभापति थापाको पक्षबाट कानुन व्यवसायीले बहस गरिरहँदा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरु घिमिरे इजलासमा उपस्थित रहेका थिए।

थापा पक्षका कानुन व्यवसायीको बहस लम्बिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीले ‘आज जवाफी बहस भ्याइँदैन कि’ भनेका थिए। थापा पक्षका कानुन व्यवसायीलाई बहसका लागि साढे ३ बजेसम्मको समय तोकिएको थियो।

उनीहरूले सवा ४ बजेसम्म बहस लम्ब्याएपछि देउवा पक्षले कुरा उठाएको थियो। त्यसपछि न्यायाधीश शारंगा सुवेदीले ‘हामी यो मुद्दा लम्ब्याउन चाहदैनौँ, आजै सक्नुपर्छ’ भनेकी थिइन्।

त्यसपछि थापा पक्षको बहस रोकिएको थियो। अहिले देउवा पक्षले जवाफी बहस गरिरहेका छन्। देउवाको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन्।

यस मुद्दामा देउवा पक्षका कानुन व्यवसायीले बिहीबार बहस गरेका थिए। आज उनीहरूको जवाफी बहस सकिएपछि आदेश आउन सक्ने सम्भावना रहेको छ।

गत पुसमा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपपछि निवर्तमान सभापति  देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

समाचार वर्गहरू