काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा दुई, कपिलवस्तु, बाँके, अर्घाखाँची, कास्की, बारा, चितवन र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको औपचारिक जानकारी दिए ।
कोरोना संक्रमणबाट काठमाडौंकाको बुढानिलकण्डका ८५ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । सेप्टिक सक, ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ १७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी रोगबाट समेत पीडित थिए ।
काठमाडौंको महाबौद्धकी ८० वर्षीया महिलाको ग्राण्डी अस्पतालमै मृत्यु भएको छ । ज्वरो, श्वास प्रस्वासमा समस्या लगायतको समस्या लिएर भदौ ३ गते अस्पताल भर्ना भएकी उनी मृगौला सम्बन्धी रोगबाट समेत पीडित थिइन् ।
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका अर्घाखाँची शितगंगाका नगरपालिका– १२ का ४२ वर्षिय एक पुरुषको मृत्यु भएको छ । उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक उनलाई बुटवलस्थित अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि नेपालगञ्ज पठाइएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१० की ७३ वर्षीया वृद्धाको मंगलबार अपरान्ह मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई हिजो अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा भर्ना गरिएको थियो ।
सोमबार मृत्यु भएका कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी समस्या पनि थियो ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी नेपालगञ्ज उपमहानगरपालिका-१६, बाँकेकी ८० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापको बिरामी उनी स्वास्थ्यमा समस्या आएपछि २१ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
बाराको महागढीमाई नगरपालिका-१० का ६० वर्षीय पुरुषको कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह लगायत रोग पनि थियो ।
न
नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि डायलासिस गराउँदै आएका उनी खोेकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।
कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा पनि एक वृद्धको मृत्यु भएको छ । कोरोना संक्रमित सुनसरीका ७० वर्षीय वृद्धको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।