काठमाडौं – सत्तारुढ नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नो पक्ष बलियो सावित गर्न विभिन्न भेला तथा बैठक तीब्र पारेका बेला उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी भएका छैनन् ।
अध्यक्ष दाहाल र वरिष्ठ नेता मावधकुमार नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा समेत ओलीको क्याबिनेट नछाडेका गृहमन्त्री थापा प्रधानमन्त्रीले बोलाएको भेलामा भने सहभागी भएनन् ।
निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरु प्रधानमन्त्री ओलीले सोमबार गरेको छलफलमा सहभागी भएका गृहमन्त्री थापा गुटगत भेलामा भने अनुपस्थित रहेका थिए । बरु बिहान थापाले आफैं आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोधमा हिजो विज्ञप्ति निकालेका उपाध्यक्ष गौतम पनि कतै सहभागी भएनन् । बानेश्वरमा भएको दाहाल–नेपाल पक्षीय नेताको भेलामा समेत अनुपस्थित रहेका गौतम सो समूहले गरेका हस्ताक्षर संकलनमा पनि सहभागी भएका थिए ।
आजै विज्ञप्ति निकालेर उपाध्यक्ष गौतमले पार्टी फुटको घोषणा हुन मात्र बाँकी रहेको बताउदै साक्षी बस्न आफू कुनै भेलामा सहभागी नहुने बताएका छन् । गौतम र थापा जस्तै स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझी पनि दुवै पक्षका भेलामा उपस्थित नभएको नेताहरुले बताएका छन् ।