जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने प्रधानमन्त्री

25

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको बताएका छन् । सोमबार कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधनको गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह बमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको बताएका हुन् ।

आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरिदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएको उनले बताए । एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सात वटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले विस्तार गरिएको उनले बताए ।

परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरी यसलाई यथाशीघ्र अझै उन्नत बनाइने प्रधाजमज्त्री ओलीले जनाकारी दिए । प्रत्येक स्थानीय तहलाई कोभिड–१९ सँग जुध्न सक्ने गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा, आधारभूत वस्तुहरुको आपूर्ति र शान्ति सुव्यवस्था कायम गर्न सक्ने तुल्याउन संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने पनि उनले जानकारी दिए ।

खासगरी क्वारेण्टिनको प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा स्थानीय तहलाई सक्षम पार्नेगरी साझेदारी अघि बढाइने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, ’क्वारेण्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिनेछ । आवश्यकता अनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ ।‘

प्रधानमन्त्री ओलीले केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको खानपान तथा हेरचाह व्यवस्थित गरिने पनि बताएका छन् ।

समाचार वर्गहरू