काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालका सहसचिव शरण पाण्डेलाई दुग्ध विकास संस्थान (डीडीसी) मा महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।
कृषिमन्त्री गीता चौधरीले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई महाप्रबन्धकको जिम्मेवारी दिएकी हुन् । पाण्डे मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत हुन् । डीडीसीले किसानलाई दूध खरिद गरेबापत ५० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्ने दायित्व छ ।
बिहीबार दिउँसो डीडीसी पुगेर पदबहालीसमेत गरेका महाप्रबन्धक पाण्डेले सोही बक्यौता भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । ‘बिक्री केन्द्र विस्तारदेखि यसको अवस्था सुधार गरेर संस्थाभित्रको चुहावट अन्त्य गर्ने मेरो मुख्य कार्य रहने छ,’ उनले भने ।
यसअघि विभिन्न प्रदेशमा कृषि सचिवको रुपमा काम गरेको डा.पाण्डे पशुपन्छी क्षेत्रका अनुभवी र प्राविधिक ज्ञानयुक्त प्रशासकका रूपमा चिनिन्छन् ।