कपिलवस्तु – महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो ।
प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए ।
नेपाल सरकारको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले पुरातत्वको दृष्टिकोणले तिलौराकोट अत्यन्तै महत्वपूर्ण ठाउँ रहेको बताए । उन तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफलको हुने बताउँदै स्थानीय बासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुने पनि बताए ।