धर्मका नाममा राजनीति गर्ने दिन अब सकिए : मन्त्री राई

15

काठमाडौँ, रासस — शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएका छन् । नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे ।

“जनता जागरुक भइसकेका छन्, धर्मका नाममा अब राजनीति हुँदैन, सबै मिलेर विकास गर्नुपर्छ”, मन्त्री राईले भने । संविधानले सबै धर्मलाई सम्मानका साथ समानताको अधिकार दिएको उनले बताए ।

नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद विकास कोषको रकमबाट रामलीला व्यवस्थापन समितिलाई रु २५ लाख सहयोग गरेको उनले बताए ।

नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला मञ्चन यसवर्ष सकिएको छ । रामलीलाको यो १५१औैँ संस्करण हो । सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

भारतको वृन्दावनका कलाकार राधारमण शर्मा नेतृत्वको १५ सदस्यीय टोलीले यस वर्षको रामलीला मञ्चन गरेको हो । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभराज्याभिषेकसहित रामलीला महोत्सव सम्पन्न भएको छ ।

समाचार वर्गहरू